इच्छाहीन मनले बोकेको
सीमाहीन आनन्दको लय
सीमाहीन आनन्दमा अवस्थित
असीमित सौन्दर्य त्यो प्रकृति
किन चिम्लनु ती आँखाहरू
बाँधेर इच्छा र अभिलाषाका काला पट्टिहरू
किन भर्नु त्यो निर्जन सुनसान मौलिक शान्तिमा
त्यो कोलाहल
त्यो सृजित भय अनि
त्यो मिथ्या अस्तित्व बोझको
एकदिन धुवाँ जस्तै उडेर जाने,
मस्तिष्कका कोष सङ्गै मरिजाने
शरीरका अङ्गहरूसङ्गै शिथिल हुने
ती इच्छाहरू ति प्राप्तीहरु
तिनैको खोजीमा धनुष झैँ दोब्रदै,
ताँदो झैँ तन्किदै
अनि बाण जस्तै उछिट्टिदा
एक अनिश्चयको त्रासमा थर थर हुँदै
कुरुप दुर्गन्धित लक्ष्यमा गाडिएर
अर्को मिथ्यानुभुति "मेरो लक्ष्यभेदन"
अनि फेरि सड्ने पर्खाइ
आफ्नो या त लक्ष्यको
स्वतन्त्रताको आशमा जेलिएको
त्यो दास जीवन त्यो कुरुप बन्धन
अनि फेरि आशाको पहिरोमा पुरिने?
अहँ! स्वीकार्य छैन
त्यो जसको मन बाँधिएको छैन
उ स्वतन्त्र हो
जसको मस्तिष्कमा कथाहरु भरिएका छैनन्
उ मौलिक हो
उसले ती आँखाहरुलाई घृणा गर्दैन
चाँहे तिनले भ्रम देखाउन्
उसले ती कानहरूलाई सराप्दैन
चाँहे तिनले मिथ्या सुनाउन्
उ स्वतन्त्र छ,
उ खाली छ
अनि भारबिहिन छ
जस्तो ब्रम्हाण्डमा हुर्रिएको
त्यो प्रकाश तरङ्ग
आवृत्ति बिनाको
असीमित आयाममा।
No comments:
Post a Comment