गुरूर्देवो भव:, गुरु ब्रह्मा गुरर्विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नम: यही दैनिक सुनेर हुर्केको छोरी जब स्कुलमा विद्यालयमा दुर्व्यवहारमा पर्छे आफ्नै गुरुबाट अनि शुरुमा त उ आफैले विश्वास गर्न सक्दिन त भन्छे कसरी? उसले भनीहाली भने पनि उसैका बाबुआमाले पत्याउँदैनन् किनकी उनीहरू पनि त्यही उद्धरण गाइरहन्छन्, त्यसैले उसले भन्दिन। बाबु आमाले नपत्याउने सम्भावना भएको ठाउँमा यो पाखण्डी समाजले पत्याउँछ भन्ने त झन् सम्भावना हुँदैन, त्यसैले ऊ बोल्दिन। झन् विद्यालयका लगानीकर्ता सञ्चालनकर्ता र शिक्षकहरूसङ्ग इज्यत प्रतिष्ठा लगानीको स्वार्थ र दुर्व्यवहारबाट मज्जा लिने स्वार्थ हुन्छ, झन् पत्याउने कार्यको अपेक्षा हुँदैन, त्यसैले बोल्दिन।
यो पुरुषवादी चिन्तन आदिम युग देखि चली आएको छ। यहाँ रामायण देखि महाभारत सम्मका युद्धको कारकको रुपमा पुरुषको नालायकिपन र अपराधको बोझ नारीको काँधमा राखिएको छ भने अहिले पनि दोष पाउने त तिनै हुन्। त्यसैले सार्वजनिक स्थान देखि विद्यालय, कार्यालय देखि घरभित्र भएका दुर्व्यवहार बलात्कारका घटना उनीहरू भन्न सक्दैनन्।
अर्को मनोवैज्ञानिक पाटो केलाउने हो भने यौनजन्य हिँसा, दुर्व्यवहार तथा बलात्कारजस्ता घटनाले धेरै गहिरो मानसिक आघात पूराउँछ। त्यस्ता आघातबाट बाहिर निस्केर यो पाखण्डी समाजको अगाडि उभिन धेरै कठिन कार्य हो। सामान्य मै हूँ भन्ने पुरुषलाई एउटा यौन रोग लागेछ रे मानौँ त्यसलाई Erectile dysfunction भाको रैछ रे। त्यसले सजिलो सङ्ग बन्द कोठामा डक्टर सङ्ग त्यो कुरो राख्न त सक्दैन भने सार्वजनिक त गर्न असम्भव छ। यो त अझ उसको कथित पुरुषत्व समन्धित कुरा भयो अझ ठगिएका, मूर्ख भइएका, लाज लाग्ने खालका सामान्य कुरा समेत लुकाएर हिँड्छ मान्छे। परिवार नियोजनको साधन खरिद गर्दा थर थर आवाज कपाएँर, वरिपरि हेरेर, रातो पिरो भएर, किनेको चीज समेत लुकाएर हिँड्छ मान्छे चाहे जतिसुकै साहसी छु भन्दै खोके पनि।
महिलाको इज्यत् प्रतिष्ठा जिन्दगी मात्र हो र उसको लोग्नेको जिन्दगी समेत महिलाको योनिमा लगेर राखेको छ यो समाजले पतिब्रत धर्म भन्दै (बृन्दाको पतिव्रत धर्म नष्ट नहुँदा त शिवजी समेत लाचार रे जालन्धर को अघि अनि विष्णुले बलात्कार गरे पछि जालन्धर मारिएको कथा, सावित्री सत्यवानको कथा..... आदि)। यस्तो समाजमा सामान्य मूर्ख होइने, ठट्टाको पात्र होइने घटनामा समेत कुरो लुकाउने हाम्रो मानसिकता, बाटोमा कोई लड्यो भने पहिला मरी मरी हाँस्ने हाम्रो मनोविज्ञान भएको ठाउँमा महिला यो पहिल्यै चरम मानसिक आघातमा छ, कसरी भन्न सक्छ उसले आफूमाथि भएको घटना?
अहिलेको घटनामा पनि पीडितले सुब्बा दिदीलाई भन्दा उनी ३३ वर्षकी महिलावादी शिक्षित मान्छे अगाडि आउन सकिनन्। अनि उनले प्रेम गरेका पुरुषलाई त्यही कुरो सुनाउँदा, मैले गर्दा मज्जा की त्यसले गर्दा मज्जा? त्यो तेरो गल्ती हो भन्ने नीच तथा निर्लज्ज दुर्व्यवहार। यस्ता कुराले पीडित कसरी खुल्न सक्छ र?
अझ पीडित युवती अथवा किशोरी कसरी बलात्कृत भै भनेर त्यो घटना सविस्तार सुनेर आफ्नो यौन उत्तेजनाबाट आनन्दित हुने सामाजिक मनोविज्ञानमा उनीहरू कसरी खुल्न सक्छन्। पत्रिका देखि कथा लगायत चलचित्रमा 5 मिनेट लाग्ने गरी बलात्कारको दृश्य राखिएको हुन्छ त्यो पनि जति नृशंस भयो उती सफल रे, के यो बलात्कार बाट समेत मनोरञ्जन लिने बलात्कारी समाजको प्रक्षेपण होइन?
एउटा अन्तरवार्ता सम्झन्छु मैले, एउटी बालिका सानो उमेरमा नै सामूहिक बलात्कृत भइन्, उनको पाठेघर नै संक्रमित भो त्यसलाई निकालेर फालियो। उनी किशोर अवस्थामा पुगे पश्चात् नजिकका नातेदार दाजु भाइ मात्र हो र बाबुले नै तेरो पाठेघर छैन के रे म सङ्ग सुत्दा पनि के भो र? मैले ती निला आँखाको घृणाको तेज सम्झिदा पनि झेल्न अहिले पनि सक्दिन। यस्तो समाजमा कुन पीडित खुल्न सक्छ?
बलात्कार पूँजीवादको उपज हो, नवउदारबादको उपज हो भन्ने कथित क्रान्तिकारी तथा प्रगतिशील विद्वानहरूको जिन्दगी केलाउँदा उनीहरू पनि बलात्कारलाई अचम्मको रुपमा लिँदा रहेछन्। उनीहरूले पनि महिलाहरुलाई यो संस्कार त्याग, यी आडम्बर त्याग यसैले तिमीहरूलाई शोषण गरेको छ भन्ने अनि तिमि स्वतन्त्र छौ, तिमी बुद्धिमती छौ विदुषी छौ त्यसैले म जस्तो प्रगतिशिल विद्वानले तिमीलाई प्रेम गर्छ, तिमीले पनि गर्नु पर्छ अनि आऊ भन्ने फेरि नयाँ प्रगतिशील तथा बलात्कारको क्रम शुरु हुन्छ। यस्तो प्रगतिशील वातावरणमा उनीहरू खुल्छन् चाहिँ कसरी?
बलात्कारको मुद्दामा कस्सिने, मृत्युदण्ड समेत माग्ने, पुरै आवेशमा पनि आउने जब आफ्नो मान्छे, या आफ्नो नेता, गुरु, या मालिक परेको खण्डमा चाहिँ त्यसमा षड्यन्त्र देख्ने, अझ हाम्रो संस्कार व्यवस्था आदिको विरुद्धमा गरिएको विदेशी योजना र षड्यन्त्रमा समेत पुग्ने। नारा जुलुस आन्दोलनसम्म गर्ने अनि पीडित खुल्छ कसरी? हाम्रा महिलावादी दिज्युहरु आफ्ना लेख विकाउन, पेट पाल्न attention seeking को लागि बडो बडो आदर्श छाट्ने अनि भित्र भित्र त्यही पुरुषवादी र पितृसत्तात्मक सोचकै मतियार हुने देख्दा देख्दै कसरी खुल्छ पीडित?
यस्ता अवस्था धेरै छन्। पुँजीवादी साम्राज्यवादी मुलुक भनिए पनि अमेरिकी कानुनमा जस्तै पीडितले जहिले आफूमाथि भएको अपराध महसुस गर्छ र अभिव्यक्त गर्छ चाहे त्यो जतिसुकै समय पश्चात होस् तत्काल अपराध भएको मानिन्छ भनेर कानुनी प्रक्रियामा गए पनि धेरै राहत हुन्थ्यो। पीडितको अवस्थालाई कानुनले पनि मनोवैज्ञानिक र सामाजिक तरिकाले विश्लेषण गर्ने अवस्था भइदिएको भए पनि केही राहत हुन्थ्यो। त्यो पनि हाम्रो कानुनी व्यवस्थामा छैन अनि पीडित कसरी खुल्छ?