नियात्रा: एक निरन्तर यात्राको

सुमी दिदीले देखाएको समाज

  यौन हिँसा, दुर्व्यवहार, बलात्कारको सिलसिला ओहो बढ्दो छ। पितृसत्ता अनि पुँजीवादी व्यवस्थाले महिला माथि थोपरेको यो निकृष्ट र पैशाचिक बोझ देखि आक्रोशित छु म भित्रै देखि। आजकाल मेरो दैनिकी नै यसैको बारेमा लेख्ने अनि विभिन्न कार्यक्रममा जाने भएको छ। 

म बसेको फ्ल्याट को अर्को कोठामा सुमी दिदी बस्नु हुन्छ। वहाँ पनि लेख कविताहरू लेख्नु हुन्छ, अनि वहाँ विज्ञानको विद्यार्थी अहिले मनोविज्ञानको पनि विद्यार्थी हो। वहाँ कुनै अलौकिक शक्तिमा विश्वास नगर्ने एक शुद्ध नास्तिक हुनुहुन्छ। त्यसैले हामी भौतिक विज्ञान देखि अन्तरिक्ष विज्ञान हुँदै यौन हिँसा अनि यी यावत् अपराधको विषयमा हामी सधैं बेलुका छलफल गर्छौँ। 

मैले सधैँ दिदीलाई यो सब समस्याको मूल पितृसत्ता अनि पुँजीवादी व्यवस्था हो भनेर भन्छु, प्रगतिशील तथा क्रान्तिकारी व्यवस्थामा यो हुँदैन भन्छु। दिदी मुसु मुसु हाँस्नु हुन्छ जस्तो सानी बालिकाले कुनै जटिल व्यवस्थाको बारेमा उसको आफ्नो व्याख्या गर्दा आमा हाँस्नु हुन्छ। म झन् आक्रोशित भएर मलाई प्रगतिशील क्रान्तिकारी दाजुहरुले सुनाउनु भएको या ती साहित्यमा उल्लेखित कुरा भन्छु, दिदी अझै मुस्कुराउनु हुन्छ। 

मैले लेखेका लेख, कविता सुनेर कस्ता कस्ता प्रगतिशील क्रान्तिकारी विद्वान दाजु दिदी अनि काकाहरु प्रभावित भएको देखेकी छु। वहाँहरुले मलाई कति तारिफ गर्नु हुन्छ, हौस्याउनु हुन्छ मलाई विदुषी भन्नु हुन्छ। तिमीहरू जस्तै प्रगतिशील नारीहरू सचेत भएर लागे भने यो समाज बदलिन्छ क्रान्ति हुन्छ भन्नु हुन्छ, तर दिदी मलाई एक अबोध बालिका ठान्नु हुन्छ। 

एक दिनको कुरा हो मलाई समाजमा साम्यवादी विचारक तथा प्रगतिशील विद्वान भनेर सबैले चिन्ने हाम्रो श्रद्धेय दाजु जो आफ्नो उमेरको तीन दशक काटिसक्नु भएको छ वहाले तिमी त विदुषी भनेर तारिफ गर्दै एउटा सन्देश पठाउनु भएको थियो। म मख्ख पर्दै यी दिदी जो मलाई एक अबोध बच्चा ठान्छिन् नी यिनीलाई देखाउँछु भनेर वहाँको कोठामा पुगे अनि हतार हतार देखाए। दिदी प्रभावित हुनुहुन्छ होला भन्ने ठानेको त वहाँ त झन् मुसुमुसु हास्नु हुन्छ। मलाई मायालु आँखाले हेर्दै भन्नु भो, सानी! तिमीलाई म एउटा कथा सुनाउँछु है। शायद अब तिम्रो यो कथा सुन्ने बेला भयो। आज म यतै खाना बनाउँछु, आज दिदी बहिनी मज्जाले कुरा गर्ने ल।"

बेलुकीको खाना खाइसके पछि दिदीले आफ्नो कुराहरू भन्न थाल्नु भो, म वहाँको मुखमा एकटक हेरिरहेको छु, दिदी बोलिरहनु भएको छ। 

"मलाई पनि लाग्थ्यो सानी! यी नैतिकता अनुशासन संस्कार प्रगतिशीलता क्रान्तिकारिता, परिवर्तन, प्रेम आदि विषयमा लेख्ने साहित्यकार, विचारक अनि दार्शनिकहरु पक्कै केहि त फरक छन्। स्कूल देखि कलेज अनि कार्यस्थल देखि सार्वजनिक ठाउँमा यौन हिँसा दुर्व्यवहार भोगेका हुनाले ती समाजले महान भनेका व्यक्तित्वहरू जो निरन्तर यही यिनै विषयमा दह्रो कलम चलाएका, साहित्य लेखेकाहरु सङ्ग कुरा गरेर भए पनि आफ्नो मन हलुङ्गो गरौं झै लाग्थ्यो। 

उनीहरूको लेखन, अनि अभिव्यक्तिहरू सुनेर मलाई पनि लाग्थ्यो सानी! यिनीहरू पक्कै फरक छन्। संसारमा हिंसक, महिला द्वेशी तथा अपराधी मात्र छैनन्। एक थरी संस्कारी व्यक्तिहरू थिए भने कोई प्रेमील साहित्यकार, कोई अनुशासन र नैतिकताका बारेमा घण्टौ बोल्न सक्नेहरु थिए भने कोई प्रगतिशील र क्रान्तिकारी चिन्तकहरु थिए। मैले भौतिकरुपमा त भेटिन सानी तर उनीहरूसँग फेसबुक ट्विटर भाइबर ह्वाटसएप आदिबाट जोडिएकी थिएँ। 

स्कूल कलेज देखि कार्यस्थल सार्वजनिक ठाउँमा नै भोग्नु परेको यौन दुर्व्यवहार भोगेको भएर मेरा लेख कविताहरूमा अहिले तिमीले व्यक्त गरेका आक्रोश जस्तै व्यक्त हुन्थे। उनीहरूसँग कुरा गर्दा पनि म त्यही आक्रोश र असन्तुष्टि व्यक्त गर्थेँ। आफूलाई नैतिकता अनुशासन संस्कार र प्रगतिशीलता खरो उतारेका, महिला हिँसा तथा दुर्व्यवहारका कुरामा मात्र नभई कुसंस्कार, राजनीतिक मुद्दा देखि अन्याय अत्याचार शोषणका कुरामा समेत मुखर भएर बोल्ने उनीहरूसँग प्रभावित भएकी थिएँ।

उनीहरू सङ्ग म त्यही ४, ५ महिना बोले हुँला मलाई उनीहरू प्रत्येक सङ्ग बोलेको एक हप्ता देखि नै मलाई उनीहरूको नियत प्रति शंका उब्जिन थाल्यो। शुरुमा म उनीहरूसँग प्रभावित भए पनि एक हप्ता पछि भने यिनीहरू मलाई मनोविज्ञानको अध्ययनको लागि पनि नमूना हुन सक्छन् भन्ने लाग्न थाल्यो। जब त्यो महसुस हुन थाल्यो नी सानी! अब उनीहरूको प्रभाव एकाएक शुन्य हुँदो रहेछ। मैले अब निश्चय गरेँ कि अब मानिसले आफ्नो निकृष्ट उदेश्यहरु कस्तो कस्तो आवरणमा लुकाउँदो रहेछ त्यो यिनीहरू बाट नै पत्ता लगाउँछु।

म दिदीको कुरा बडो ध्यान दिएर सुनिरहेकि छु। दिदी शान्त बोलिरहनु भएको छ।

एकजना नजिकको नाता पर्ने दाजु थिए, क्यानाडा बस्थे। नेपालमा स्नातकोत्तर गरेर एक दशक कयौ कलेज पढाएका ती दाजु क्यानाडा जस्तो शिक्षित तथा विकसित मुलुक बसेका बुद्धिमान नै होलान् झै लाग्थ्यो। उनी सामान्य बोलचाल गर्थे। अलिक बोलचाल बाक्लिदै गए पछि उनले भने म नेपाल आउँछु तिमी र म घुम्न जानु पर्छ। हामी घुम्न जाँदा हाम्रो बीच सेक्स पनि हुन्छ। यो सामान्य हो कान्छी, झन् सुरक्षित प्रकारको सेक्स हुन्छ त्यो, न कसैले शंका गर्ने न कुनै अफ्टेरो हुने। खासमा नेपालीहरुले सेक्स गर्न जानेको नै छैन। सेक्स गर्दा यस्तो प्रक्रिया उस्तो प्रक्रिया अपनाउनु पर्छ यसरी मजा आउँछ आदि आदि। एक शिक्षित अनि विकसित मुलुकमा बसेको व्यक्तिले आफ्नो बहिनीसँग गरेको कुरा हो यो। दाजुले क्यानाडा बाट नेपाल आउनु पूर्व मलाई सात हजार रुपैयाँ समेत पठाए। अनि नेपाल झर्ना साथ लगातार फोन म्यासेज गर्न थाले। मैले पूरै वास्ता नगरि उनले पठाएको पैसा उनैले भनेको बहिनीलाई दिए पछि सो क्रम रोकियो। अझै पनि निर्लज्ज दाजु कहिले काँही फेसबुकको म्यासेन्जरमा झुल्किन्छन्। 

यो रह्यो सानी! दश वर्ष कलेज पठाउने हाम्रो दाजुको कथा। उनीबाट त्यो दश वर्ष कति विद्यार्थी बलात्कृत भए होलान्, कति दुर्व्यवहारमा परे होलान्। नेपालीले नजानेको तर उनले जानेको सेक्स विधि बाट कति बहिनीहरू प्रताडित भए होलान्। त्यसैले शिक्षित तथा विकसित मुलुक बस्दैमा कुकर्मी र बलात्कारी मानिस सुध्रिदैन।" 

"फेरि अर्को शिक्षककै कुरा छ सानी! पोखरा तिरका एक अङ्ग्रेजी विषयका शिक्षक थिए। उनिको प्रकृति प्रेम अनि कवित्व पनि गजबकै थियो। भौतिक रुपमा भेट नभए पनि प्रकृति प्रेममा डुबेर लेखिएका, सामाजिक तथा राजनैतिक अवस्था, महिलाको अवस्थाको बारेमा अभिव्यक्त भएका नेपाली तथा अङ्ग्रेजी कविता देख्दा उनि बेग्लै हुन् क्यारे भन्ने लाग्थ्यो। केही समय बोलचाल हुँदै जाँदा उनले आफू पत्नी पीडित भएको, पत्नी खाली पैसा र पदको लागि लुब्ध अनि उनी चाहिँ ज्ञानको भोको किताबको पुजारी भएर पत्नी सङ्ग सम्बन्ध विच्छेद भएको कुरा गर्थे। दुई छोरा छोरी भइसकेको पतिले पत्नीलाई दोषी देखाएर आफू प्रेमको भोको रहेको, पहिला गरेको सेक्सको यादले छट्पटिएको कुरो गर्दा यी पनि निकृष्ट पतित हुन् भन्ने लागिहाल्यो। 

केटीहरु खाली प्रहरी सेना ड्राइभरको पछाडि हुन्छन्, उनीहरुलाई प्रेमको मतलब हुँदैन, पेनिस र पैसाको पछि लाग्छन्। कवित्व भएको महान मस्तिष्क प्रति युवतीहरु आकर्षित हुन्छन्, भिन्चिका कम उमेरकी प्रेमिका अनि उसले गर्दा उनको कला निखारिएको आदि आदि कथा पठाउँथे। सोही क्रममा मैले जति सुकै विद्वान भए पनि सब सेक्सकै पछि हुने रैछन् भने पछि त्यो म्यासेजको स्क्रिनशट पठाउँदै धेरै दिन सम्म म त्यस्तो होइन म महान छु भनिरहे। अहिले ती ब्लक गरेर बसेका छन्। यस्तै विचारधारा बोकेर होला उनको पत्नी सङ्ग पनि सम्बन्ध बिग्रेको अनि मलाई लाग्यो पत्नीलाई दोषी देखाउँदै आफू पीडित भएको भन्दै संवेदना तथा सहानुभूतिको पसल थाप्ने विद्वान कवि चाहिँ ती हुन् सानी!" 

म सुनिरहेको छु, सुमी दिदिलाई जस्तै मेरो म्यासेन्जरमा पनि नानु भन्ने दाजु अनि पत्नी पीडित प्रेमका भोका विद्वान दाजुहरुका सन्देश त छन् क्यारे। दिदी बोलिरहनु भएको छ। 

"अब दर्शन चिन्तन तिर जाउँ सानी! एक जना नुवाकोट तिरका ठमेल तिर व्यवसाय भएका युजी कृष्णमूर्तिका दर्शनहरूले फेसबुकका भित्ता सजाउने देखि अभिव्यक्त गर्ने अर्का विद्वान सङ्ग भेट भयो। तिनी झन् एक कदम अगाडि थिए। उनी अझ पश्चिमको समाजमा दाजु बहिनी मात्र होइन बाबु छोरी, आमा छोराको बीचमा पनि सेक्स हुन्छ। त्यो जायज नै हो झन् सुरक्षित आनन्ददायी भन्थे। अझ म विवाहित हुँ तर मेरो विवाह मागी विवाह भएकोले पत्नीले मेरो कुरा बुझ्दिनन् अनि म पनि प्रेमको भोको छु। म तिमीलाई प्रेम गर्छु, बरु म तिमीलाई बहिनी बनाएर तिहारमा टीका लगाउँछु। मलाई तिमी जस्तै प्रेमिका चाहिएको छ जो मेरो प्रेमको तृष्णा मेटाउने अनि मेरो प्रेरणाको स्रोत बनोस्। 

तिमी र म विदेश तिर जाउँ अनि प्रेमको आदर्शको उच्चतम् बिन्दुको भोग गरौँ, पत्नी यही नेपालमा हुन्छिन्। मैले उनकी पत्नी सङ्ग पनि कुराकानी बढाउदा त के थाहा लाग्यो भने पत्नीलाई त जे पायो त्यही भन्न लेख्न नसकिने गाली पो गर्दा रहेछन् दर्शनशास्त्री विद्वान त! उनकी पत्नीले म्यासेज देखाए पछि पो थाहा भयो। हालसालैको चुनावमा राजनैतिक नेतृत्वको बारेमा टिप्पणी गर्दै रहेछन् मैले त्यहाँ गएर एक वाक्य लेखिदिएको मलाई ब्लक गरेर गायब भए दर्शनशास्त्री विद्वान।"

दिदीको कुरा सुनेर म अलिक अस्थिर हुँदै छु, मन एक तमासको हुँदै गइरहेको छ। दिदी शान्त हुनुहुन्छ।

दिदीले मुसुमुसु हाँस्दै भन्नु भो अब सानिको प्रगतिशील क्रान्तिकारी विचारकको पालो है। 

"म संस्कारी, पढेका, दर्शनशास्त्रीको पारा देखेर छक्क थिए। एक जना साथीले झण्डै सात दशक जीवन पुगेका एक क्रान्तिकारी प्रगतिशील साम्यवादी मार्क्सवादी चिन्तकको स्टाटस शेयर गरेको मेरो फेसबुकको भित्तोमा आयो। यिनीहरू सङ्ग आजित भएको म यी प्रगतिशील क्रान्तिकारी कस्ता हुन्छन् होला भन्ने जिज्ञासाले अति छोयो। वहाँको फेसबुकमा पाँच हजार साथी अनि ७५०० पछ्याउने हुँदा हुँदै पनि म्यासेज र फ्रेन्ड रिक्वेष्ट पठाएँ.....

सर नमस्कार 

नमस्कार मलाई चिन्नुहुन्छ

चिन्छु नी एक लेखकको रुपमा .......

यसरी मैले कुरा शुरू गरे। मलाई ती विद्वानले कुराकानी गर्छन् होला भन्ने त्यति विश्वास थिएन तर पनि कुराकानी शुरू भयो। शुरुमा मलाई उनका लेख अनि अभिव्यक्तिहरू राम्रै लागे। म पनि कम्युनिष्ट आन्दोलनको भाग भएर होला अरु भन्दा प्रगतिशील मार्क्सवादीहरु अलग पक्कै हुन्छन् भने लागेको थियो। 

कुराकानी हुँदै गयो, मैले आफ्ना रचना पठाउँथे उता बाट पनि उनका रचना आउँथे। तर आश्चर्य उनले पनि आफू पत्नी पीडित भएको, पत्नी पद र पैसाको पछि परेको उनी चाहिँ समाजको क्रान्तिकारी रूपान्तरणको पक्षमा रहेको अनि यसैले गर्दा पत्नी सङ्ग राम्रो सम्बन्ध नरहेको उनी पनि प्रेमको भोको रहेको सुनाउन पुगे। मलाई अब अलिक अफ्टेरो महसुस हुन थाल्यो किनकि म पनि मार्क्सवादी चिन्तनको पक्षधर नै थिए। 

मैले पितृसत्तात्मक समाजमा पुरुष अग्राधिकार प्राप्त हुने भएकाले समाजमा महिलाको अवस्था नाजुक छ भन्ने पृष्ठभूमिमा यो प्रेम, विवाह आदि सामाजिक व्यवस्थामा पुरुष सधैँ पीडक नै हुने कुरा व्यक्त गर्थे, त्यही अनुसार नै हरेक आदर्श, रीति संस्कृति छन् भन्ने कुरा अलिक कडा तरिकाले प्रस्तुत गर्थे। त्यसैले म यो प्रेम अनि विवाह पनि नारीमाथि थोपरिएको शोषणकारी व्यवस्था हो भन्ने गर्थेँ। यही कुरा उनीहरूको आफ्नै लेखमा पनि हुन्थ्यो नै। तैपनि त्यसमा क्रान्तिकारी विद्वानले कहाँ बाट पुरुष द्वेश देख्न पुगेछन्। उनले मलाई सोध्न थाले के तिमीलाई कुनै पुरुषले धोका दिएको हो? तिमीलाई पुरुष देखि किन डर? अनि पुरुष सङ्गकाे सम्बन्धमा तिमीलाई किन यत्रो ठूलो असन्तुष्टि? मैले अब उनको स्तरको मापन गरिसकेकी थिएँ। अब म सङ्ग प्रगतिशील मस्तिष्कको अध्ययन गर्ने मौका मेरो हातमा थियो। 

मैले उनलाई फूर्काउँदै भने हो म पनि पुरुष पीडित नै हो। मैले प्रेम गरेको व्यक्तिले मलाई बलात्कार गर्यो। उनले हौसिदै सोधे के कसरी सबै विस्तारमा भन। मलाई चाहिँ अब आश्चर्य लागेन। जब कि पितृसत्ताका विषयमा उनैले भनेका कुरा लेखेका कुरा मैले पनि भन्दा मलाई पुरुषसँग डराउने रोग लागेको देख्नेले बलात्कारको कहानी विस्तारमा सुन्न उत्साहित हुनु कुनै आश्चर्य को कुरा थिएन। मैले उनलाई विश्वास दिलाउन एउटा कथा भने, म एउटा रेडियो प्रस्तोताको प्रेममा थिए। हाम्रो भेटघाटको क्रममा भेट्यौं। दिनभर घुमे पछि हामी उसको लजमा गयौँ। त्यहाँ एकछिन बस्दा उसले मलाई यौनसम्पर्कको लागि जवर्जस्ती गर्यो , मलाई असाध्यै पीडा भयो मैले उसलाई धकेलेर आफूबाट अलग गरेर आफ्नो रुममा फर्किए। त्यो बेला देखि मलाई यो प्रेम अनि पुरुष देखि घिन लाग्यो। 

त्यसपछि उनको प्रतिक्रिया आश्चर्यजनक थियो। 

उनले भने "हो त्यही भएर तिमीलाई मेलो फोबिया भयो। त्यसैले तिम्रो लेख र अभिव्यक्तिमा पुरुष द्वेश झल्किएको हो। म मनोविज्ञानको विद्यार्थी पनि भएकोले यो कुरा पहिले नै बुझिसकेको थिए। लौ भन त्यसले के गर्यो? लजमा जानु अघि बाटोमा स्तन माँड्यो, लजको रुममा पुगे पछि तिमीलाई कसरी ओछ्यानमा पल्टायो? तिम्रो भित्री लुगा कसरी खोल्यो? तिमीले उसको लिङ्ग देख्यौ? तिम्रो यौनाङ्ग उसले चाट्यो? कति पसायो, कति समय गर्यो? कता उसले आफ्नो वीर्य झार्यो? रगत आयो? सब विस्तारमा भन मलाई। यसरी सबै स्पष्ट भन्यौ भने तिम्रो उपचार हुन्छ। तिमी यो मनोरोग मेलो फोबिया बाट मुक्त हुन्छौ।" 

यी प्रश्नहरू यती छिटो सोधिएका थिए की लाग्थ्यो उनी पूरै उत्तेजित छन्। उनले अझै थपे "हेर यो कुरा तिमीले मलाई भन्यौ उचित मानिसलाई भन्यौ। यसबाट मुक्त हुनको लागि एकदम निपूर्ण व्यक्ति सङ्ग तिमीले मज्जाले सेक्स गर्नु पर्छ। म पनि निपूर्ण सेक्स गर्न सक्छु, तिमीले मलाई सेक्स दियौ भने तिमीलाई म यती मिलाएर गर्छु कि तिम्रो यो रोग सम्पूर्ण निको हुन्छ।" यी

सबै कुरा प्राकृतिक भन्दै झर्रो नेपाली भाषामा गरिएका थिए। मलाई उनी भन्दै थिए, "तिमी उत्तेजित भइनौ? भएको भए तिम्रो योनी र स्तनको फोटो खिचेर मलाई पठाउ। तिमी जति खुल्छौ त्यति छिटो तिम्रो रोग निको हुन्छ।" अझ उनले थपे, "मेरो पनि प्रेमिका भर्खरै कोविडले मरीन, म पनि सेक्स गर्न नपाएर एकदम पागल छु........।

मैले तुरुन्त बत्ती नभएको फोटो पठाउन नमिल्ने भनिदिए अनि विचित्र संसार देखेर त्यो दिन सुते। मेरो मनमा अब प्रगतिशील क्रान्तिकारी लेखका रचनाकारको नग्न चरित्र अगाडि थियो।

भोलि पल्ट म्यासेजमा मेरो रोगको अझ धेरै उपचारहरु थिए। स्तन र महिनावारी भनेको यौनसम्पर्कको लागि योग्य हुनु हो, पहिलो पटक यौनसम्पर्क गर्दा पीडा र रगत आउनु सामान्य प्रक्रिया हो, यौन मानिसको सामान्य प्राकृतिक क्रियाकलाप हो, प्रेम भनेर हरेक पुरुषले यस्तै गर्छन्। त्यसैले प्रेमी छान्दा विचार पुर्याउनु पर्छ। यो कुरा तिम्रो हुनेवाला जीवनसाथीलाई नभन्नु त्यसले तिम्रो जीवन सखाप हुन्छ आदि आदि। त्यसपश्चात् उनले मेरो प्रतिक्रिया मागे। मैले उनलाई अति राम्रो आँशु आयो कुरा सुनेर भनिदिएँ। उनी यति सम्म हौसिए कि तिमीलाई म विद्यावारिधि सम्म गराउँछु। तिमी अति विदुषी अति विद्वान मान्छे छौ। तिमीले उपचार गराउन मलाई सेक्स दिनु पर्छ नत्र उपचार हुँदैन। तिमी न आत्तिनु तिमीलाई म यस्तो उपाय बताउछु कि तिम्रो भावी पतिले सेक्स गरेको कुरै थाहा पाउँदैन तिमीलाई अखण्ड कुमारी रहने उपाय बताउँछु। यो पुरातन संस्कारमा तिमी जस्तो विदुषी बस्ने होइन, अगाडि आऊ ......

यस्तो लाग्यो कि उनी त त्यही पौराणिक ऋषि मुनि जसले सेक्स गरेर माझिका छोरीहरूलाई अखण्ड कुमारीको वरदान दिएका थिए। यहाँ मैले प्रगतिशील क्रान्तिकारी ऋषि फेला पारेकी थिएँ। उनी त अब मेरो प्रेममा छु भन्दै कहिले फकाउने, कहिले घुर्काउने अनि थर्काउने सम्म गर्न थाले। तिमी विदुषी म विद्वान भएर एउटा विद्वान पुत्र पाउने कल्पना भएका साहित्य पोस्टिन थाले। उनलाई लाग्दो रहेछ उनका संवादहरु, तस्वीरहरु मार्फत् ब्ल्याकमेलमा पर्छु कि भन्ने डर पनि रहेछ, ती कुरा उनका लेख रचनामा झल्किन्थे। कहिले कसैका चरित्रका प्रमाणपत्र मेरा इनबक्समा छन् त कहिले साइबर विशेषज्ञले गरेको सहयोगको उल्लेख गरेर धम्क्याउने गर्थे। 

मैले आस्था राखेको मार्क्सवादी प्रगतिशिल विचारधाराका गन्यमान्य चिन्तकको त्यो निरिह अवस्था देखेर आश्चर्य लाग्दै थियो। उनका अन्य राजनैतिक लेखहरूमा पनि उनको यो डर, कुण्ठा झल्किदिदा त्यो लेख एक्कासी रसातलमा पुग्थ्यो कुरुप हुन्थ्यो। कहिले काँही फेरि आफै गलत थिएँ, म त्यसरी अगाडि बढ्नु हुँदैनथ्यो भनेर आत्मसमीक्षा पनि गर्ने फेरि तुरुन्तै मलाई उक्साए, उत्तेजित गराए, मैले आफन्त भनेर माया गरेर पो रोगीको उपचार गरेको भन्दै फेरी आदर्शको आवरण ओड्ने गर्न थाले।

जे होस् सानी! ती वृद्ध पितामह कुण्ठित व्यक्ति हुन्, यस्ता प्रगतिशील मनोचिकित्सक सङ्ग पनि तिमीले सावधान हुनु पर्छ। यो हाम्रो समाज हो। यहाँ विभिन्न आवरणमा विभिन्न स्वार्थ भएका कुण्ठितहरु हुन्छन्। उनीहरूले कहिले संस्कार त कहिले आदर्श, कहिले दर्शन त कहिले स्वतन्त्रता र प्रगतिशीलताको आवरणमा आफ्नो क्षुद्र कुण्ठा पूरा गर्न लागि पर्छन्। तिमी सङ्गै महिला हिँसा दुर्व्यवहार, बलात्कारको विरुद्धमा आन्दोलनरत कति व्यक्तिहरुको लक्ष्य त्यही आवरण भित्र लुकेको हुन्छ। व्यक्तिहरू संवेदनशील हुन्छन्, यस्ता मुद्दाहरूले अझ संवेदना बढाउने गर्छ। त्यही संवेदनालाई प्रयोग गरेर आफ्नो निकृष्ट उदेश्य पूरा गर्ने लक्ष्य पनि धेरैको हुन्छ सानी!

हेर त ती क्यानेडेली दाजु, ती अङ्ग्रेजीका विद्वान दुवै शिक्षक हुन्। दुवैको लक्ष्य कस्तो छ। त्यो दर्शनशास्त्री अनि ती प्रगतिशील क्रान्तिकारी अनि हामीले भोगेका दुर्व्यवहार अनि समाजमा यौन अपराध गर्ने अपराधीहरू सबै एउटै समुहका हुन्छन्। कसैले बल प्रयोग गर्छन्, कसैले मान प्रतिष्ठा, कसैले धन, तिनीहरू भन्दा पनि निकृष्ट ती हुन्छन् जसले संवेदनाको प्रयोग गर्छन्, आदर्शको प्रयोग गर्छन्। ती झन् ठूला नरपिशाच हुन्। त्यसैले सानी तिमी हामी भनेका कसैको पनि अनुशरण गर्ने, कसैको पनि फ्यान हुने, कसैलाई पनि पूर्ण विश्वास गर्ने हुनु हुँदैन।

समस्या भनेकै के हो भने अन्ध भक्ति हो चाहे त्यो कुनै व्यक्ति प्रति होस् या कुनै विचारधारा या कुनै वाद। त्यसैले सानी हमेशा सचेत भएर आफ्नो अधिकार के हो? र उसको अधिकारको दायरा कति छ? आफ्नो क्षेत्रफल कति छ? त्यहाँ कसलाई कति सम्म नजिक आउन दिने? कति संवेदनशिल हुने? कति संवेदना ग्रहण गर्ने? सहानुभूतिको व्यापारको बारेमा बेलैमा बुझ्नु जरुरी हुन्छ।"

दिदीको कुरा सुनिरहेछु, सोचिरहेछु.....साँच्चै मनन गर्नु पर्ने छ हरेक कोणबाट सबैलाई.....।









Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.

Blog Archive