नियात्रा: एक निरन्तर यात्राको

कविताहरू

 



बुज्नको लागि तपाईं एउटा महासागर हुनुहुन्छ।

तर मसँग एउटा झर्के लोहोटा मात्र छ,
ज्ञान उघाउन,
हुन त बुझेर पनि के गर्नु,
झन दु:ख हो, साँच्चै बुझियो भने,
प्रेम, ध्यान, मन , अँाखा, भाब, गरिराइ
कसरी हाँसेर रमाउनु।
त्यहि भएर त्यो लोहोटा पनि बेचेर
एउटा ठुलो सङलो पोखरी किन्छु
त्यो महासागरको एउटा सानो भाग
त्यहाँ आफैलाइ छाँयामा हेरेर
मुस्कुराउन सिक्छु।


.......................................

तिमी गएदेखी मैले
तिम्रो तस्बिर छोडेकै छैन
जसरि बोलाउछ तिम्रो आँखाले
म मदहोस भएर फर्किदिन्छु।
तिम्रो हेराइमा नसा छ
मैले ओठमा लिइरहेछु,
त्यही स्पर्शमा हराइरहेछु,
केही तिमी फरक छौ, म तिमी जस्तै
यो कुनै थाहा हुने कुरा नै होइन
म बोलाइरहन्छु तिनै पलहरुलाई।

तिमिले मेरो मन आफ्नु हातमा
कुनै किराया लिए जस्तै
सापटि लिएर, हेर्दै गयौ त्यहि हात
म धड्किरहेथी तिम्रो हत्केलामा
छोडेको तस्वीर मलाइ झस्काउछ
म तड्पिन्छु होला?? होइन? कुनै
रातमा, तिमि निदाएको बेला।
तर तिमी मसग कुनै अप्सरा जस्तो
हलुका भएर मलाई किन छुन्छौ?
मलाई सुस्ताउदै कानमा केही भन्छौ।
अह! म बोल्दिन, मलाइ थाहा नै छ!
मेरो उत्तरमा तिमिलाइ चित्त बुज्दैन।
किनभने तिमी ताप भएर कुनै
मैनलाई भेट्न आयौ,मेरो पग्लाइ(जलाई)
तिमिलाइ मनपर्दैन!
तिम्रो आखाबाट तप्प झरे म
डराउदै, काप्दै ओठबाट
उहीँ रङ्गहरु मिसाउछौ मसग
उसैगरि मैले हेरि रहे तिमिलाइ
जुनले अधेरीलाई हेरे जस्तै
उसैगरि छोइ रहे घामले
धर्तीलाई छोए जस्तै।



........................................................................


शरद ऋतु..

यो मेरो मौसम हो।
यस्ले हर कुरा मसिनो बनाएर हेर्छ।
यसले पात माथि शित लिएर आउछ।
आकाशमा मेघ भन्दा निला खुशि रङ्गहरु बोकेर आउछ।
कालो रातमा तारा भएर झर्छ।
मुठ्ठीमा केहि स्वास बोकेर चौगाराका खुशीहरु टाल्छ
पहिले उ बिहानि शुक्र संगै हातमा आगोको मुस्लो लिएर हिड्थ्यो।
अहिले बिजुलीका तारमा आफुलाइ बगाएर जान्छ।
उहि
उज्यालो खोज्न मुलढोकाबाट काचका चुराहरु
बज्दै दियाघरको दियो नजिक पुग्छन
नरम औलाहरु हातहरुसग मिल्छन,
उहिजस्तै खुशी खुशि नै हुन्छन्।
कुनै घरको एक कुना हल्लिदै गरेको
कोक्रोमा केहि महान महानहरु नतमस्तक हुन्छन्
यो शरद हो,र मेरै मौसम हो।
...........................................

जिवनमा घाम चाहिएको छ
एउटा रुख छ जस्ले फुल,फल,नभए घास।
र अन्त सम्म पुग्दा हागाका दाउरा सम्म दिन सक्छ।
तर जिवनमा घाम चाहिएको छ

उसलाई काट्नु छ।
मलाई के असर गरेको छ??
उसले मेरो घाम छेकेको छ।
मानिसले आफ्नु सुबिधाको लागी जे नि गर्न पर्छ।
आवश्यकता, बाध्यता एकै पटक अनेक पटक।

.....................................................

औशिको अध्यारोमा म घुर्मैलो छाँया हेर्छु
पटेकाको झिल्को, झिरझिरको तुजुक सकिएपछि
मैन, जमिन र चौरका पातको
शरीर भोलि कतै मरेको होला।
पग्लिसक्यो उ तिम्रो लागि जलेको होला।



...............................................

म अहिले गाउँ कै मात्र हु र कथा लेख्दै छु।
पख्नुहोस एकदिन म दरबारमा पुग्छु र
झ्यालमा बस्दा कुट्मिरोको रुखले
मेरो अनुहारमा हानेको हावा बिर्सिन्छु।
झरीले मेरो आगनमा पानीले पारेको फोका बिर्सिन्छु।
दिक्क भएका छन यि आखा त्यो कोतारेको पहाड र
लडेका ढुङ्गा अनि बर्सात सङै झर्ने माटो हेर्दाहेर्दै
म बाटो बिर्सिन्छु, म माटो नि बिर्सिन्छु।
हुन त कुनै ढङ्ग बिना सम्झिनु भन्दा त।
सधैंको लागि बिर्सेको बेस।
झर्को लगाउनु भन्दा त आफै जानेर
गएको वेस।
.............................................



किनारालाई कुनै हतार हुन्न
उहि खोलालाइ मात्र हो
समुन्द्र भेट्नु छ,
पत्थर मिलाउनु छ
धुल्याउनु छ।
बर्सौबाट एक्कै ठाउँमा बसेको
तटलाइ बाढीले नि पुर्याएन काहि पनि।
जान्छ कि सोधेन पानी पनि।
ओहो! सुत्छ बिउझिन्छ
बिउझिन्छ सुत्छ।
सुस्ताएको आवाज सुनिरह्न्छ।
एक झोक्का बाफले हावा कै
गति सग मिलेर सुगन्धित बनायो शरीर।
किनारालाई हतार नै छैन अर्को झोक्का
कुर्ने धैर्य कसरी राख्छ बरि!
.................................................................

मलाई नलड्न , नझर्न, नकुद्न सिकाउँछन।
जस्तो कि पुष्पदललाई चाहि फुलका बोंटले
नझर्न सिकाउदै सिकाउदैन्न।
मैले फालेको धुलो मै माथि खनिदा, मुख छोप्न सिकाउछ।
त्यो दिमागि फोहोर नफाल्न सिकाउँदै सिकाउँदैनन।
खालि खुट्टा टेक्न मन्दिर भित्र, झुक्न पत्थर सित सिकाउछ्न।
मान्छेसित मानिस झुक्न सिकाउदैनन।
हुन त यि झुक्नु, उठ्नु हिड्नु, शिखर चड्नु बस शब्द न हुन।
खोइ मलाई त आज भोलि यि दिमागले शब्दैमात्र सिकाउछन।
उफ!केहि सिकादैनन शब्दै मात्र सिकाउछन।







................................................................


त्यहाँ तिमि पुग्नै सकेनौ जहाँ मैले लैजान खोजे।
त्यो एउटा अकाट्य मैले मानेको सत्य बाटो थियो।
मलाई मानेर मैले मानेको मान्नु ठुलो नहुने जस्तो थियो।
मैले डोर्याएको पथमा घाम शरीर र छाँया हिडाउने मन थियो।
शरीर आफ्नु भएर छाँया घामको हुदो रहेछ
या जुनको,
तर..
म औशिको रातमा यि कल्पना गर्दै रहेछु।
त्यहि हो नै आफैं औशि भएर अध्यारोको पथप्रदशक बन्न छोडे।

........................................................................

तिमिले टेकेका पाइला मैले हेरे
जहाँ दुबो मौलाएर शरदको घाममा
शित ट्ल्किरहेको देख्छु।
हुन त एक्छिनमा सुकेर उहि बर्सातको पर्खाइमा हुन्छन
क्षितिज निरका सिमलहरु पनि।
पहाड र आकाश एकै बनाएर बस्ने बादललाई
अब खबर के सुनाउनु र चर्को घाममा
मस्त छ्न कुटमिरोका पातहरु
आवश्यक नै छैन बर्सात तर।
  ति पाइलामा मौलाएको दुबो जस्तै
म भित्र तिमि मौलाउने आश नभएको होइन।
ठ्याक्कै! शिशिरको कठ्याङृएको पहाड
जस्तै मौन भयो मेरो अगाडीको मौसम
म किन पर्खिन सकौ र गइ सकेको बसन्तलाइ अब।
हामी दुबो होइन रहेछ।




........................................................................

म जस्तै...
ठिक्क हुन जान्दैनन् आजभोलि यि मौसमहरु
कि  मेघ सधैं उघारै हुन्छन,
कि  बादल एकापट्टि गुजुमज्ज बसेका
आकाश शरद जस्तै निला,, निला
बर्सातमा कि त झरि नै मात्र कि त,
गृश्ममा खडेरी।
चराहरु घरको आँगन मन पराउन छोडे
बस्कुन तिनै किराना पसलमा।
खाली भएरै बोझ घाटेको छ घरलाइ ढिकुटिको
अन्नहरु सहरमा मात्र पाइन्छन आजभोलि।
हेमन्त मै कसरी हिउ खस्यो आँखाबाट,
पहाडको पछ्याउरिमा जब बल्यो सितारा।
कम्तिमा शिशिरमात्र कुरेको भए हिमालले।
अहिले बुच्चै हुनु पर्ने होइन यो बसन्तमा।
एउटै मात्र चक्र चलिरह्न्छ झन्न समयको
नत्र त म जस्तै ठिक्क हुन जान्दैनन् यि मौसमहरु।



........................................................................

धेरै हतारमा छन मान्छे
आफ्नु भन्न, आफ्नुलाई खोइ कता छोडेर
कसलाई आफ्नु भन्न र,
बुझेपछि पछुतो हुन्छ।
मिठाई होला भनेर
तर मिठाई पनि खोलमा
बेरिएको हुन्छ।
हो त्यहि पाल्स्टिक हुन्छ अन्तिममा।
किनभने सोचेको एक र
हुने अनेक हुन्छ।
बिकसित मुलुकमा त
त्यो प्लास्टिक पनि प्रशोधन हुन्छ।
अन्तिममा
यहाँ त माटोसग गुजुल्टिएर बसेको हुन्छ।
त्यसले माटोको समेत उर्वरतालाई
बिगारेको हुन्छ।
हो त्यहि हुन्छ मान्छे।
........................................................................

म कसरी निकालौ।
म भित्र भएको तिमिलाइ
जो काडा जसरी बिजेर बसेको छ।
म हिड्छु पैतालो चस्किन्छ।
म सोच्छु मुटु झस्किन्छ।
म कसरी फेरौ म भित्र बग्ने रगत।
जो तिम्रो धड्कन धड्किदा छछ्ल्किन्छ।
म कसरी फेरौ यि स्नायु हरु जो
तिम्रो नाम लिदै गुज्गुजाउछन टाउको भित्र।
म सोच्छु आराम त होला एक्छिनमा,
एउटाबाट धेरै सङ्ख्यामा पलाउछन।
म कसरी निकालौ ति कोषहरु,
जो तिमिलाई मैले नसम्झे नि आफैं गुनगुनाहट
लिएर सुस्ताउछन।




..................................................................................

लाग्छ होला तिमि छैन भने
त्यो साझ रात नभइ अड्किरहन्छ
त्यो पल रोकिन्छ
तिमी नदेख्दा मुहार मलिन हुन्छन्
तिम्रो बाटो हेरिरहन्छ्न
त्यस्तो बिल्कुल हुँदैन
तिमी नभएर के हुन्छ र त्यो आकाशलाई
अनि धर्तीलाई
........................................

......................................
वर्षौ को त्यो बहाबले बनाएका
पत्थरहरु  किनारामा मिलेका देख्दा देख्दै
तटमा बसेर
मलाई किन आवश्यक पर्छ र बालुवा खन्न?
अनेक शक्तिको प्रशंशक हुँदा हुँदै अरु
पानीको सामर्थ्यको मैले बयान किन गर्नु?

मैले खन्याएको एक कचौरि पानी
उसैको आकारमा बसेको मात्र हो।
म भन्छु
आकार बिहिन भएर नै छालहरु शक्तिशाली
बनेको हो।
अस्थिर उम्मादलाई आबेग छुन आएपछि
आधी पनि साम्य भएको हो।


........................................................................

कुनै झ्यालबाट हेरिरहेछु
अँध्यारो  उपत्यका।
अनि सुनिरहेछु उज्याला आशाहरुको
अन्धकार बाटो।
यो सहर सबै थोक भन्छ
कहिले बोल्दैन मलिनता।
चिच्याहट छ यहाँ भित्र
तर
चिहाइरहन्छ कसैको सन्नाटा।

फक्रिनु त मर्नु जस्तै हो गुलाबालाई!
यहाँ बगैंचा देख्नेहरु
किन देख्दैनन् नफुटेका दलहरु,बीउहरू।
किन देख्दैनन् भाँचिएका फूलहरु।
यिनै करेसाहरूमा।
एकदम अन्धकार देखिरहेछु एउटा बगैँचा।
यो उज्यालो लाग्ने देशमा
देखिरहेछु अन्धकार एउटा उपत्यका।



........................................................................

शिशिरमा कठ्याङृएका पहाड पखाल्न
झरी झरिरहेको थियो।
यि नाङ्गा रुखहरुको कोमल समय
फर्काउन यि मौसमलाई पनि कति
चटारो हो?
सिरानिमा गुट्मुटिएको मस्तिष्कले नसोचि
बस्नै सकेन।

तुसारो पखालिएको आकाशपछि
ट्ल्किएको जमिनमा
मेरो दुब्लिएको छाया प्रष्ट देख्दा
मलाई लाग्यो
हराएको शरीर संगै
मौसम पनि हराउन लागेको होला।
हिउँले छोपिदिएको पहाड हास्न लागेको होला।
बसन्त मलाई मन पर्छ उहि आउन लाग्या होला।
पालुवालाई सिरेटोले छुन लाग्या होला।
उजाडिएको पाखाहरु रमाउन लाग्या होला।

........................................................................

नहिडे पनि अपजस आउनेछ,
हिडे पनि आउनेछ
काम गरे पनि आउनेछ
नगरे पनि आउनेछ,
त्यसो भए वास्ता किन गर्नु ?

होच्याउने समाज छ
जातलाई लिएर,
धर्मलाई लिएर,
अनुहारलाई लिएर,
कर्मलाई लिएर।
काम पूजा हो, त्यो त मुखमा मात्र छ
किन?
किनभने
गफाडी समाजको विकास भएको छ।

कलिला हातलाई
धर्मको डोरि, जातको भुमरीमा किन पारेको?
सामाजिक बन्धनले किन बाँधेको?
ऊ पनि प्रकृति नै हो
बाँच्न पाउनुपर्छ
रुख झै,
पहाड झै,
पंक्षी झै
स्वतन्त्र भएर।

परिवर्तन कर्मले हुन्छ,
अठोटले हुन्छ।
गफाडी समाजमा जन्मिए
बच्चाले नि गफमात्र सिक्नेछ ।

विकास कर्मले निम्त्याउने सम्भावना हो।


........................................................................

आफैमा विश्वास गर्न सकिएन भने
बाटोभरी काँडाले घोच्नेछन्,

बाँच्न जनिएन भने,
निसासिने बनाउनेछन्.
हरिया रुख जलाएर ।

स्वाभिमानी भइएन भने
घुंडा टेकाउने छन्.
अनेकौं आश देखाएर ।

हिंड्न जानिएन भने
लडाउनेछन्,
पाइला सार्दा
पाइलै पिच्छे छिर्के लागाउनेछन् ।

कसैले आफ्नै बाटो रोज्छ
आफ्नै पाराले जिउँछ,
न त अरुको मतलब गर्छ
र पनि चासो राख्छन्
‘लडाउनेहरु’।

आफ्नो शरीर हेर्दैनन्
अरुलाई मोटो अनि पातलो
देख्छन्
‘जल्नेहरु’, जलाउनेहरु
अपरीपक्क योग्यताको सान
देखाउँछन्
रट्ने अनि रटाउनेहरु।

घर सफा गर्दैनन
बस्तीमा फोहोर देख्छन्
फोहोर आफ्नै दिमागमा
‘लुकाउनेहरु’।

आफू परिवर्तन हुन
तयार हुँदैनन्,
अरुलाई सर्लक्क पल्टाउन
खोज्छन्
दोषै दोषमात्र
‘देखाउनेहरु’

पहिले आफै परिवर्तन हुन सिकौं अनि मात्र अरुलाई सिकाऔं !


.....................................................................






अन्तिम कबिता।
**""""
आकाशमा बादलको एउटा पुर्णबिराम देखिन्थियो।
क्षितिजनिरको सिमलको भुवासग
घाम र सुस्त बतास जिस्किरेहेको देखेपछि
सोचे
यो जङ्गलको महानता सिमल या चापको उचाइमा भर पर्छ
ए त्यसो भए अग्लो हुनु नै सबै थोक रहेछ।
नत्र झुल्किदो घाम संगैको बेसर्मि दृश्य तिनै सुर्यका किरण
आकर्षण बिरलै गर्ने
कालिझारले देखि सकेका छन।
मैले तिम्रो नाम पनि निकै अग्लो ठाउँमा
शानदार तवरमा लेखि दिन मन थियो
तर..
हेर !आकाशमा पुर्ण बिराम छ र
सिमलहरु अग्लिएका सबैभन्दा होचा जस्ता
त्यहि भएर
मैले अन्तिम पटक पनि तिम्रो नाम लेख्नलाइ पनि
यहि झार नै प्रयोग गर्न पर्यो।
गुनासो नगर्नु यो अन्तिम पटक को अन्तिम कबिता!!
........................................................................


Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

Translate

Search This Blog

Powered by Blogger.

About Me

My photo
province 1, Nepal
I have a keen interest in poetry, visiting, nature, science.