म केही गर्न सक्दिन ।
तिम्रो कथा सुन्न अनि आँशु बगाउन
र
मन् धमिलो बनाउन बाहेक म केही गर्न सक्दिन
न तिमीलाई सपना देखाउन।
न त आश्वासन दिलाउन।
म तिम्रो पीडा मेरै पीडा हो भन्न बाहेक
केही गर्न सक्दिन।
आफ्नै परिवारबाट त अपहेलित भयौ
पहिलो पटक रगत बगे सँगै
शाररिक परीवर्तन बाट आतिएकी तिमी
त्यो गोठमा विस्थापित हुँदा
हो! त्यतिबेला मलाई भए जस्तै
पीडा भएको थियो होला।
म तिम्रो पीडा मेरै पीडा हो भन्न बाहेक
केही गर्न सक्दिनँ।
बलात्कारी को मन् हुन्छ कि हुँदैन होला?
आफू महिला नैं भएकी ती आमाको त
मन् खोइ त्यही अँध्यारो छाउँ जस्तै रहेपछि
त्यस्तै माताका चरम संस्कारबाट
जन्मिएका र हुर्किएका पुरुष पिशाच हरुको
मन् कहाँ हुन्छ होला र?
कतै ती
आफू अधिकारबाट बञ्चित भएको वाकालत गर्ने
संस्कारी महिलाबाट जन्मिएको र हुर्केको
पुरुषहरु त होइनन्?
ती बलात्कारी हरु?
आमा हुनुमा त सबै हुन्छ भने
तिमी आमा हुनु को पहिलो चरण मै
अपहेलित हुँदा कस्तो भएको होला?
तिमी सानी बच्ची
दोष आफ्नु हो की जन्म छोरीको
या समाजले च्यापेको कुरितीको?
न्यानो तातो आशको त्यो शिरलाई
कालो कठगाराको सजाय पाउँदा
त्यो बेला मलाई भए जस्तै
पीडा भएको थियो होला।
म तिम्रो पीडा मेरै पीडा हो
भन्न बाहेक केही गर्न सक्दिन।
म मानवताको खोल ओडेको
सवैभन्दा अमानविय मान्छे
म विचरा! भन्दै गरेको
भीडको ध्यान आत्मकेन्द्रित गरिरहेको
आपराधिक निडर मान्छे,
तिमी बुझ्दिनौ
चाहेको भए मा त्यही स्वदेशी
अनि विदेशी
महिला अधिकरकर्मी
बालबालिका परोपकार संस्था को
खोल ओडेर
तिम्रो दुःखको व्यापार गर्थे।
त्यो साहस पनि मसँग छैन।
म कान नभएको सरकार जस्तै
म मुख नभएको तर बोलेरै खाने अधिकारकर्मी जस्तै।
म मन् नै नभएका ती तिम्रा परिवार जस्तै
म दिल त हुँदै नभएका ती बलात्कारी जस्तै
तर
मसँग सम्झना छन्
आँखा भरी झलझली
आफ्नै पनि अवस्थाको
कस्तो भएको थियो
तिमीलाई पनि यस्तै भएको होला?
भन्न बाहेक केही गर्न सक्दिन
नसक्ने कुरा म गर्दै गर्दिन
तर यो पीडा मेरै पीडा हो भन्न मन् लाग्यो
म तिम्रो पीडा मेरै पीडा हो भन्न बाहेक केही गर्न सक्दिन।
(२०१८ सालमा लेखिएको कविता हो यो। यो बेला सुदूपश्चिमामा एउटा घटना भएको थियो।कुनै एक जना महिला छाउगोठमा बलात्कृत भएकी थिइन्। र मैले यति कोरेर रिस पोखेकी थिए।)
No comments:
Post a Comment